पत्रकार महासंघ बाँकेद्वारा मिडिया विधेयक संसदबाट फिर्ता गरी पुनर्लेखन गर्न माग

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले लुम्बिनी प्रदेश सरकारलाई मिडिया सम्बन्धी विधेयक संसदबाट फिर्ता गरी पुनर्लेखन गर्न माग गरेको छ । महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरललाई ज्ञापन पत्र बुझाएका हुन् ।

‘यो विधेयकको उद्देश्य प्रदेश भरीका सञ्चारमाध्यमहरुको हक हितको रक्षा गर्ने र नियमन गर्ने हुनुपर्ने थियो’, अध्यक्ष भण्डारीले भने, ‘विधेयकको प्रस्तावनादेखि अधिकांश दफा उपदफामा सञ्चार माध्यम र सञ्चारकर्मीहरु दण्ड जरिवानादेखि जेल सजायसम्मको प्रावधान राखिएको छ । मिडिया र मिडियाकर्मीमाथि कानुनी दण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्किएको छ । तसर्थ तत्काल विधेयक प्रदेशसभाबाट फिर्ता गरेर पुनर्लेखनको लागि वातावरण मिलाउन माग गरेका छौं ।’
उनले प्रदेश सरकार यही अवस्थामा अघि बढेमा महासंघ प्रदेशभरी नै थप आन्दोलनका कार्यक्रमहरु आयोजना गर्ने चेतावनी दिएका थिए । प्रजिअ गेलालले महासंघले हस्तान्तरण गरेको ज्ञापन पत्र प्रदेश सरकारलाई पठाउने बताएका थिए ।

महासंघको आन्दोलनमा ऐक्यबद्धता
बाँकेका मिडियासँग सम्बधी संघसंस्था र अग्रज पत्रकारले लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको मिडियासँग सम्बन्धी विधेयक फिर्ता नल्याए नेपाल पत्रकार महासंघले आयोजना गर्ने आन्दोलनमा ऐक्यबद्धता रहने जनाएका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलिले मिडिया विधेयकले मिडिया र मिडियाकर्मीलाई कमजोर बनाउन खोजेले पत्रकारहरुले यसको विरुद्धमा आन्दोलन गर्नुपर्नेमा जोड दिए । महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई संविधान, मिडियासँग सम्बन्धित संघीय ऐन, कानुन, मौलिक हक र प्रेस स्वतन्त्रता विरोधी भएकाले मिडियालाई नियन्त्रण गर्न खोजेको बताए । कार्यक्रममा प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट धिताल र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले कलम चलाउनेहरुका विरुद्ध ल्याएको विधेयकको विरोधमा महासंघले आयोजना गर्ने हरेक कार्यक्रममा आफ्नो संगठनको ऐक्यबद्धता रहेको जनाएका थिए । लुम्बिनी प्रदेशका १२ जिल्लाकै नेपाल पत्रकार महासंघका शाखाले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *