बाँकेका २१ आइसोलेसनमा बिरामी शून्य

शंकरप्रसाद खनाल । नेपालगन्ज
भेरी अस्पताल नेपालगन्जमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार ब्लकमा एकैदिन सवा ३ सयभन्दा बढी कोरोना संक्रमितको उपचार गरिन्थ्यो । आइतबार अपराह्न अस्पतालको आइसोलेसनमा पुग्दा ५८ शैयाको ‘सी’ ब्लक र २७ शय्याको ‘डी’ ब्लकमा संक्रमित राख्न छाडेको पाइयो । सुविधासम्पन्न ‘डी’ ब्लकमा ताल्चा मारेको भेटियो । ‘सी’ ब्लकमा ‘ननकोभिड’का ३८ बिरामी भर्ना गरेर उपचार भइरहेको स्टाफ नर्स गीता शाहीले बताइन् । ‘ए’ र ‘बी’ ब्लकमा पनि केही शैया खाली नै थिए । भेरीको आइसोलेसन २ सय ६० शैैयाको क्षमता हो । यहाँ अहिले ४० जना मात्र संक्रमितको उपचार भइरहेको छ । अर्थात्, कुल शैयाको १५ प्रतिशत मात्र बिरामी छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा असार लागेसँगै अस्पतालका शैया खाली हुन थालेको बताउँछन् । ‘वैशाख–जेठमा कोरोना संक्रमण उच्च भयो । निषधाज्ञा लगाएर चेन ब्रेक भयो’, डा.थापा भन्छन्, ‘नागरिकले स्वास्थ्य मापदण्ड पालना गरे । खोपले पनि काम ग‍र्यो। अहिले संक्रमण घट्दो क्रममा छ ।’बाँकेमा कोरोना भारइरसका बिरामीको उपचार गर्ने ९५ प्रतिशत आइसोलेसन बन्द गरिएका छन् । आठवटै स्थानीय तह र चारवटा अस्पतालका गरी २२ वटा आइसोलेसन थिए । भेरी अस्पतालको आइसोलेसनबाहेक अन्यमा संक्रमित शून्य भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओली बताउँछन् ।
चार अस्पतालका पनि ९२ प्रतिशत शैया खाली भएका छन् । अस्पतालमा ५ सय १६ शैयाको आइसोलेसन थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका २ सय १६ शैया, वेस्टर्न अस्पतालका १६ शैया कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल कोरोनाको दोस्रो लहरको संक्रमण घट्दो क्रममा रहे पनि तेस्रो लहरको तयारी सुरु भइसकेको बताउँछन् । भन्छन्, ‘भेरी अस्पतालमा तेस्रो लहरका लागि वार्ड छुट्ट्याएका छौं । हरेक निजी अस्पताललाई कम्तीमा पनि २० प्रतिशत शैया छुट्टाउन भनेका छौं ।’
केन्द्रका कोरोना फोकल पर्सन ओलीका अनुसार जिल्लामा ८४ हजार ६ सय ३९ जनाको स्वाब परीक्षण गराइएकोमा १७ हजार ४ सय ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । अर्थात कुल स्वाब परीक्षणको २०.६४ प्रतिशत संक्रमण पुष्टि भएको थियो । संक्रमण भएकामध्ये झन्डै २ प्रतिशतले कोरोनाबाट ज्यान गुमाएका छन् । जिल्लामा कोरोनाबाट ३ सय १० जनाको मृत्यु भएकोे छ । आइतबार अपरान्हसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५४ मात्र छ ।

कोरोनाको पहिलो लहरमा ४ हजार ९ सय ५८ जना संक्रमित भएकोमा ५८ जनाको मृत्यु भएको थियो। ओलीका अनुसार गत असोजमा १५, भदौमा १२, पुसमा ९, कात्तिकमा ८, मंसिरमा ६, जेठ, असार र साउनमा एकरएक जनाले ज्यान गुमाएका थिए।

यो वर्ष वैशाखमा सुरु भएको दोस्रो लहरमा १२ हजार ५ सय १३ जना संक्रमित भएकोमा २ सय ५३ जनाले ज्यान गुमाएका छन्। सबैभन्दा बढी वैशाखमा २ सय १७, जेठमा ३४ र असारको तेस्रो सातासम्म २ जनाको ज्यान गएको छ।

‘पहिलो लहरमा भेरीमा ५ जना मात्र संक्रमित भएका थिए। दोस्रो लहरमा २७ जनामा झरेको थियो। बाहिरी जिल्लाबाट रिफर भएर आउने संक्रमितले संख्यामा घटबढ भइरहेको छ। तापनि, कोरोना संक्रमण घट्दो दरमै छ’, भेरी अस्पताल प्रमुख डा। थापा भन्छन्, ‘भारतमा तेस्रो लहर सुरु भइसकेको छ। खुला सीमाका कारण हामी उच्च जोखिममा छौं। बालबालिका लक्षित हुने चर्चा भएकाले हामीले २७ शय्याको बाल आइसोलेसन तयारी अवस्थामा राखेका छौं।’