टीकापुरका ३ वर्षे नाबालक ३ दिनदेखि बेपत्ता

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षे एक नाबालक तीन दिनदेखि हराइरहेका छन् ।
सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै दिदीसँगै जामुन खान गएका दिलीप विष्टका ३ वर्षे छोरा विवेक विष्ट हराएको बालकका आफन्त बमबहादुर विष्टले बताए । जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा आफन्तको घर गएपछि बालककी आमाले त्यहाँ जाँदा विवेक त्यहाँ नगएको थाहा भएपछि आफन्तले खोजी सुरु गरेका थिए ।
इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं । दुई जना प्रहरीलाई मात्रै खटाए’ विष्टले भने ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर डीएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो । नाटकीय रुपमा नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै सोमबार रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । टीकापुर एसपी अधिकारीको गृहनगर हो । मंगलबार बिहान दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीले अनुसन्धान शुरु गरेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । उनले भने ‘एसपी साप समेत यहीं हुनुहुन्छ । हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।’‘बच्चा हराएको घटनापछि हामी र हाम्रा बालबालिका निकै डराएका छौं’ स्थानीय दीपक विष्टले भने ‘दिनदहाडै यसरी घर नजिकैबाट नाबालक हराएपछि बालबालिकामा समेत त्रास फैलिएको छ, उनीहरु घरबाट बाहिर निस्किनै डराइरहेका छन् ।’ आफन्तहरुले बालकको तत्काल खोजी गरिदिन प्रहरी समक्ष आग्रह गरेका छन् ।