बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ

फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके

नेपालगन्ज : बाँकेमा संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक रहेको राप्ती गेष्टहाउसको कोठा नं. १० बाट शनिबार राती पौने ९ बजे उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षिय भक्तबहादुर पुन, ४१ वर्षिय केशव पुन र शान्तिनगर गाउपालिका–१ का २१ वर्षिय रोबिन बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा बाँके प्रहरी र लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्गको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरी उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने बस्तु ४ थान बरामद गर्न सफल भएको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका ३ जना माथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।