६ कामदारलाई पक्राउ गरी आगलागीको छानबिन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बीओपी) को निर्माणाधीन भवनमा भएको आगलागीको विषयमा अनुसन्धान गर्न प्रहरीले ६ जना कामदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज डीएसपी प्रकाश सापकोटाले अनुसन्धानका क्रममा चार भारतीय र दुई नेपाली कामदारलाई नियन्त्रणमा लिएको जानकारी दिए । अहिलेसम्म आगलागीको कारण प्रहरीले पत्ता लगाउन सकेको छैन । बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम भट्टले समेत कामदारकै कमिकमजोरीका कारण आगजनी भएको हुनसक्ने बताए । उनले कामदारले धुम्रपान गरेको वा विल्डिङको काम गर्दा लापरवाही भएको हुनसक्ने आशंका गरे । उनका अनुसार भवन निर्माणको काम अन्तिम चरणमा रहेको थियो । उनले आगजनीबाट करिव ३० लाख रुपैयाँ क्षति भएको जानकारी दिए । आगजनीबाट काठ र कर्कटपाता जलेको भए पनि भवनको फाउण्डेसनमा कुनै असर नपुगेको बताए । आगजनी टीकापुर नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिएको थियो ।