हाकिमको आफन्त भर्ती केन्द्र बन्यो, खक्रौला भन्सार कार्यालय

मानबहादुर ठकुल्ला । टीकापुर
सत्ती भन्सार कार्यालय खक्रौला कार्यालय प्रमुखको आफन्त भर्ती केन्द्र बनेको छ ।
कार्यालय प्रमुख विमलकुमार साहले गृह जिल्लाका २ जना आफन्तलाई नियम मिचेर करारमा राखेको खुलासा भएको छ ।
उनले कार्यालयका लागि ड्राइभर आवश्यक परेको भन्दै सर्लाही घर भएका जेठान नाता पर्ने श्याम चौधरीलाई कर्मचारी आवश्यकताको सूचना प्रकाशित नगरी नियुक्ती गरेको भन्सार स्रोतले बताएको छ । भन्सारका कार्यालयमा ड्राइभर आवश्यकता भएकोले हामी चुप लागेर बस्यौं । अहिले फेरी कार्यालयमा गोदाम सुपरभाइजर आवश्यक रहेको भन्दै भन्सार विभागको स्वीकृति बेगर, विना दरबन्दी आफू निकटका व्यक्ति राखेको स्रोतको दाबी रहेको छ । भन्सार विभागको स्वीकृति बेगर तलब कसरी खुवाउने भनिर स्टाफले जिज्ञासा राख्दा तपाईं तनाव किन लिनुहुन्छ सबै कुरा म मिलाउँछु भनेर स्टाफलाई कार्यालय प्रमुख साहले तर्क दिने गरेको एक कर्मचारीले बताए ।
भन्सार विभागको समन्वय र अनुमति बेगर, दरबन्दी नभएको ठाउँमा मासिक २० हजार रुपैयाँ दिने गरि करार सेवामा नियुक्ति दिएको भन्सार निकट स्रोतले जानकारी दिएको छ । भन्सार कार्यालय स्थापना गर्दा विस्थापित भएको परिवारलाई जागिरका लागि पहिलो अवसर दिनुपर्ने स्थानीय मदन साउँदले बताए । भन्सार कार्यालय प्रमुखको आफू निकटमा मान्छे प्रक्रिया मिचेर राख्ने रवैयाविरुद्ध स्थानीय दलका अगुवा, नागरिक समाज र युवाले विरोध गर्नुपर्ने उनको भनाइ छ ।