बाल दिवसको दिन जानकी गाउँपालिका बालविवाह मुक्त हुँदै

सुरज गुरुङ । मानपुर (बाँके)
जानकी गाउँपालिका बाँके जिल्लामै पहिलो पटक बालविवाह मुक्त स्थानीय तह घोषणा हुन लागेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाका अनुसार आगामी २९ भदौमा बाल दिवसको अवसरमा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको छ । शनिबार नेपालगन्जमा सरोकारवालाको छलफल कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिका स्तरीय बाल अधिकार समितिका संयोजक भूमिसरा धितालको संयोजकत्वमा २१ सदस्यीय बालविवाह मुक्त पालिका घोषणा समिति गठन गरिएको हो । समितिमा सरोकारवाला संघसंस्था र व्यक्तिहरु सदस्य छन् ।
शनिबार मात्र जानकी गाउँपालिको वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थियो । यसअघि गाउँपालिकाको वडा नं. १, २, ३ र ४ नं. वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । शनिबार नरैनापुर ६ पनि बालविवाह मुक्त घोषणा गरिएको थियो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको उपस्थितिमा गाउँपालिकाको पहिलो वडा बालविवाह मुक्त भएको हो । जिल्लाको डुडुवा र राप्तीसोनारीका वडा मात्र अब बालविवाह मुक्त हुन बाँकी रहेका छन् । अहिलेसम्म जिल्लामा १७ वटा वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । जिल्ला बाल अधिकार समितिले आगामी फागुन मसान्तभित्र बालविवाह मुक्त पालिका घोषणा भएका १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । जिल्लामा बालविवाह मुक्त घोेषणाका लागि सहजीकरण गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।