१६ वर्षमै बिहे माग गर्ने महिलाको जानकी गाउँपालिका भयो, बालविवाह मुक्त घोषणा

नेपालगन्ज : जानकी गाउँपालिका कैलासीका रामदेव मिश्र २ वर्षअघिसम्म महिलाको हुल लिएर पटक पटक नेपालगन्जमा प्रदर्शन गर्थे । उनीहरुकोे माग हुन्थ्यो, १६ वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्छ । गाउँपालिकादेखि नगरपालिकासम्म जानकीका महिला यही माग लिएर विरोध प्रदर्शनमा गर्थे । कहिले जिल्ला प्रशासन त कहिले स्थानीय तहमा धर्ना दिन्थे । चक्काजाम पनि गर्थे । २३ माघ २०७६ मा प्रहरीले मिश्रलगायतका प्रदर्शनकारीलाई पक्राउ पनि गरेको थियो ।
बालविवाहविरुद्ध क्रियाशील किशोरी क्लबका लागि यो समूह चुनौती थियो । उनीहरुले पनि पत्रकार सम्मेलन गरेर १६ वर्ष बिहे माग गर्ने विरुद्ध आवाज उठाएका थिए । जिल्लाका ८ वटै स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र पनि बुझाउनु परेको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोग स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेर किशोरी क्लब गठन गरेको थियो । बाल दिवसको अवसरमा मंगलबार बाँके जिल्लाको पहिलो स्थानीय तहको रुपमा कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा गरेपछि स्याकको परियोजना प्रबन्धक जगदीश थापा निकै खुसी देखिन्थे । मेरो खुसीसँग साँझतिर भेट हुँदा उनी भन्दैथिए, ‘हिजो बालविवाह गर्न पाउने क्षेत्र नै जिल्लामै पहिलो पटक बालविवाह मुक्त घोषणा भयो । यो भन्दा खुसीको कुरा के हुन्छ ?’
नेपालको कानुनलाई हाकाहाकी रुपमा चुनौती दिँदै बालविवाहको माग गरेका कारण जानकी धेरै बालविवाह गर्ने स्थानीय तहमा पर्छ भन्ने धेरैको आँकलन पनि थियो । सर्भेक्षणका क्रममा जानकी गाउँपालिका ६ वटा वडामा १७ वटा मात्र बालविवाह देखिन्छ । जुन एक वर्षको अवधिमा भएका ५ सय ९१ विवाह दर्ताको झन्डै ३ प्रतिशत मात्र हो । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७७ ले २० प्रतिशतभन्दा कम बालविवाह भएमा बालविवाह मुक्त पालिका घोषणा गर्न सकिने व्यवस्था गरेको छ ।