कोहलपुर र बैजनाथका किशोरी भन्छन्, ‘बालविवाहको मुद्दा किन चल्दैन’

कोहलपुर :  किशोरी क्लबका सदस्यहरुले बालविवाह रोक्न मुद्दा चलाउनु पर्नेमा जोड दिएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किशोरीहरुले बालविवाहविरुद्धका उजुरी परे पनि मुद्दा नचल्दा बालविवाह नरोकिएको बताएका हुन् । बालविवाह हुँदा अधिकांश घटनामा मुद्दा नचलाएर २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सर्तमा अभिभावकको जिम्मा लगाइने गरेको किशोरीहरुले गुनासो गरेका छन् । प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको आयोजनामा सञ्चालन गरिएको लेखन कला कार्यशालामा सहभागीले यस्तो माग गरेका हुन ।
अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले स्टोरी लेखनबारे सहजीकरण गरेका छन् । प्लान इन्टरनेशनल नेपालकी सृजना बज्राचार्यले आर्ट इज पावरका विषयमा जानकारी गराएकी थिइन् । कार्यशालामा किशोरकिशोरीहरुले बालविवाह, महिला हिंसा, लैगिंक समानता, सामाजिक विभेद, बाल अधिकारलगायतका विषयको स्टोरी लेखेका थिए । ती मध्ये ५ जनाले लेखेको स्टोरी अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएको स्याकको बैजनाथ गाउँपालिका फिल्ड सुपरभाइजर बबिता सिंहले बताइन् ।