कैलाली-बाँके प्रहरीद्वारा दिनहुँ अबैध सामान नियन्त्रण

मानबहादुर ठकुल्ला । टीकापुर
दशैं नजिकिँदै गर्दा भारतबाट अबैध रुपमा सामान क्यारिङ गरेर सामान बेच्नेहरु बढेका छन् । भन्सार छलेर सस्तो दरमा ल्याइएका सामानहरुमा नियन्त्रणमा लिन कैलाली र बाँकेको प्रहरीले सक्रियता देखाएका छन् ।
शसस्त्र प्रहरी बलले १ लाख ६५ हजारको अबैधरुपमा नेपाल भित्र्याउन लागेको कपडा सोमबार बरामद गरेको थियो । शसस्त्र प्रहरी बल बिओपी कालकु्णडाले ४ गते बिहान करिब ४ बजेको प्रतिपुरबाट १ लाख ६५ हजार बराबरको कपडा पक्राउ गरेको शसस्त्र प्रहरी बल बिओपी कालाकुण्डाका प्रमुख शसस्त्र प्रहरी नायव निरीक्षक केशव गोइलाले बताए । कपडामा सर्ट पाइन्ट र कोटको कपडा रहेको छ । उक्त कपडा कारबाहीको लागि सत्ती भन्सार कार्यालय खक्रौला पठाएको बिओपीका प्रमुख गोइलाले जानकारी दिए । कैलाली जिल्लामा टीकापुर नगरपालिकाको श्रीलंका, कालाकुण्डा क्षेत्रबाट र भजनी नगरपालिकाको कुसुमघाट, जसबहादुरघाट हिम्मतपुर, कौवाखेडा लगायतका स्थानबाट चोरीतस्करी बढेको प्रहरीले जनाएको छ ।
मंगलबार मात्र बाँकेको नेपालगन्ज उपमहानगरपालिका १४ बाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, चिनी, हार्डवेयरलगायतका अवैध सामान प्रहरीले बरामद गरेको थियो । करिब पानै तीन लाख मूल्य बराबरका उक्त सामग्री आवश्यक कारवाहीका लागि मंगलबार नै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेको जनाएको छ ।