सत्तीघाटको कर्णाली पुल मर्मत गर्न १५ दिन आवागमन बन्द

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली र बर्दिया जिल्ला जोड्ने सत्तीघाटको कर्णाली पुल मर्मत गर्न १५ दिनका लागि आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जिल्ला प्रहरी कार्यालय बर्दिया र सशस्त्र प्रहरी बल नेपाल ३१ गण हेडक्वाटर बर्दियालाई मंगलबार पत्र लेखेर कर्णाली नदीमा रहेको सत्ती घाटपुलको पूर्वतर्फको स्पान मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिदिनुहुन अनुरोध गरेका छन् । असोज ५ गते मंगलबारबाट मर्मत कार्य सुरु गरि असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको पत्रमा उल्लेख गरिएको छ ।
यस वर्ष पानीको बहाव धेरै हुँदा पूर्वतर्फको दुई वटा स्पान जोड्ने भाग करिब ६ इन्च जति छुट्टिएको थियो । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुई पटक सर्वसाधारण तथा गाडीहरु आवागमनमा बन्द गरिएको थियो । कर्णाली नदीमा पुल निर्माण भएदेखि नै पुलको पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकोले पुलको पूर्व तर्फको तटबन्ध वर्षेनी भत्कने गरेको थियो । पुलको तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ २ वटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाई नभएको स्थानीय सर्पराज साउँदले बताए । यस वर्ष पारी पट्टीको भागमा ठूलो ढुंगा हाल्ने काम भएकोले पुलको संरक्षण भएको थियो । हुलाकी मार्गमा बनेको सो पुल मर्मत हुँदै गर्दा भने केहि दिन आवागमन बन्द भएपछि कैलाली र बर्दिया जिल्लाका बासिन्दालाई हिंडडुलमा असहज हुनेछ । २०७१ सालमा निर्माण भएको १३ वटा स्पान रहेको उक्त पुलको लम्बाई ५ सय ३१ मिटर रहेको छ ।