लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो पवित्र भू–भाग हो, फिर्ता ल्याउनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बुधबार नेपालगन्जमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

नेपालगन्ज : निर्वतमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको पवित्र भू–भाग भएकाले फिर्ता ल्याउनुपर्ने दोहो-याएका छन् ।
एमाले बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले यो भू–भागलाई समस्या मात्र भनेर देशको स्वाभिमान जोगाउने कुराबाट पन्छिन खोजेको आरोप लगाए ।

‘यो सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो भू–भाग हो । हामी फिर्ता लिन्छौ भन्दैन । यसलाई समस्या हो भन्छ । हाम्रो भू–भाग समस्या हो र ? त्यो त हाम्रो देशको पवित्र भू–भाग हो । यो फिर्ता ल्याउनुपर्छ’, उनले भने, ‘फिर्ता ल्याउँछु भन्ने ठाउँमा सरकार समस्या हो, समाधान गर्नुपर्छ भन्छ । समस्या हो भन्नुको अर्थ के ? त्यो छोडिदिएपछि त समस्या टुंगियो नि भन्ने हो त ?’ ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरा, लिपुलेक, कालापानीको भू–भागलाई जोडेर नेपालको चुच्चे नक्सा पनि जारी गरेका थिए ।

उनले सम्बोधनको अधिकांश समय माधव नेपाल, प्रचण्ड र सरकारको आलोचना गर्न खर्चेका थिए । माधव नेपाल र प्रचण्ड दुबै अलिकति चोइटिएर गएको उनको जिकिर थियो । ‘प्रचण्ड पनि अलिकति आफ्नो हिस्सा लिएर बाहिर गए । माधव पनि सानो चोइटो लिएर बाहिर गए । यसले पार्टी कमजोर भयो कि भन्ने कुनै चिन्ता लिनु पर्दैन । भ्रममा पर्नु पर्दैन । अन्यौलमा पर्नु पर्दैन’, उनले कार्यकर्तालाई आश्वास्त पारे । युवा, विद्यार्थी र नेता कार्यकर्तालाई विजयको यात्रामा लाग्न पनि उनले निर्देशन दिए । उनले भने, ‘अहिलेको यात्रा भनेको पहिलेको भन्दा बढी ठूलो र विजयको यात्रा हो । यो यात्रालाई सफल पारौं । आगामी दिनको अझ ठूलो विजयको निम्ति तयारी हौं ।’
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललगायतले सदृढ एमाले बनाउन कार्यकर्तालाई जोड दिए छन् ।

1 thought on “लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो पवित्र भू–भाग हो, फिर्ता ल्याउनुपर्छ : अध्यक्ष ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *