बैजनाथका स्वास्थ्य संस्था २५* प्रतिशत मापदण्डमा सञ्चालित

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्था औसत २५ प्रतिशत मात्र मापदण्ड पूरा गरेर सञ्चालन भएका छन् । सबैभन्दा कम १९ प्रतिशत र सबैभन्दा बढी ३६ प्रतिशत मापदण्ड पूरा गरेका छन् ।
गेरुवा ग्रामीण जागरण संघ, बर्दियाले सिमाभीको आर्थिक सहयोगमा सन्चालित परियोजना वास इन हेल्थले विश्व स्वास्थ्य संगठन र यूनिसेफले विकास गरेको वास फिट टुल प्रयोग गरेर बैजनाथका ६ वटा स्वास्थ्य संस्थाहरुले स्वास्थ्यका मापदण्ड पुरा गरे-नगरेर सेवा दिएको बारे अध्ययन गरेको थियो । गेरुवाका कार्यकारी निर्देशक तथा अनुुुसन्धानकर्ता हरिप्रसाद सुवेदीका अनुसार खानेपानी, सरसफाइ तथा स्वास्थ्य संस्थाजन्य फोहोर, स्वच्छता र व्यवस्थापनसम्बन्धी स्वास्थ्य संस्थाले लागू गर्नुपर्ने ६४ वटा सूचकहरुका आधारमा गरिएको अध्ययनमा टिटिहिरिया स्वास्थ्य चौकीले सबैभन्दा बढी ३६ प्रतिशत मापदण्ड पूरा गरेर सेवा दिएको छ । नौबस्ता स्वास्थ्य चौकीले सबैभन्दा कम १९ प्रतिशत मापदण्ड पूरा गरेर सेवा दिएको सुवेदीले बताए । चिसापानी स्वास्थ्य चौकीले २१, आधारभूत स्वास्थ्य सेवा केन्द्र, डिगियाले २८, बनकटुवा प्राथमिक स्वास्थ्य सेवा केन्द्रले २० र आधारभूत स्वास्थ्य सेवा केन्द्र, पेडारीले २८ प्रतिशत मापदण्ड पूरा गरेर स्वास्थ्य सेवा दिइरहेका छन् ।
अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले ६ महिनाभित्र सबै स्वास्थ्य संस्थाहरुले कम्तीमा ५० प्रतिशत मापदण्ड पूरा गरेर सेवा दिने प्रतिबद्धता जनाएका छन् । उनी भन्छन्, ‘स्वास्थ्यको अवस्था सुधार गर्न बजेटको अभाव नभएकोले जिम्मेवार भएर कार्य गर्न स्वास्थ्यका कर्मचारीहरुलाई म आग्रह गर्छु ।’
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र लुमन्ति आवासको लागि सहयोग समूहले संयुक्त रुपमा बिहीबार बैजनाथ गाउँपालिकामा आयोजना गरेको खानेपानी तथा सरसफाइ र स्वच्छता सुधारका लागि पैरवी कार्यशालामा अनुसन्धानकर्ता सुवेदीले प्रतिवेदन सार्वजनिक गरेका थिए । * सच्चाइएको