समुदायमा सचेतना फैलाउँदै सामाजिक सेवा दिवस मनाइयो

मुरली गोडिया । गुलरिया
बर्दियामा ४२औं सामाजिक सेवा दिवस नागरिकको घरदैलोमै पुगेर सचेतना फैलाउँदै मनाइएको छ ।
शान्ति पुनर्स्थापना गृह बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दियासहित विभिन्न संघसंस्थाहरु संयुक्त रुपमा गुलरिया नगरपालिकाको वडा नं. ६ को भानुभक्त टोलमा -याली निकालेर सचेतना फैलाइएको हो । -यालीपछिको सभालाई सम्बोधन गर्दै बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले नगारिकलाई विभिन्न घटनाका बारेमा सूचना आदान प्रदान गर्न स्थानीयलाई आग्रह गरेका छन् । समाजमा हुने विभिन्न घटनाहरुको निराकरण गर्न प्रहरी तयार रहेको बताउँदै नागरिकले तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका हुन् ।
शान्ति पुनर्स्थापना गृह बर्दियाकी प्रमुख सपना शर्माले समुदायमा महिला बालबालिकाहरु अझैं पनि प्रहरी समक्ष डर मान्ने गरेको उल्लेख गरिन् । प्रहरी हाम्रो साथी हो भन्ने बुझ्न पनि सबै नागरिकलाई उनले आग्रह गरिन् । प्रहरीलाई सूचना दिए मात्र नागरिकलाई सुरक्षित तथा घटना हुनबाट जोगाउन सक्ने भएकाले पनि खुलेर समास्या राख्न शर्माले जोड दिइन् । पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न स्थानमा चोरीका घटना दोहिरिएकाले प्रहरी गस्ती बढाउन स्थानीय महिलाले आग्रह गरेका छन् । लागूऔषध, घरेलु हिंसा, मानव वेचबिखन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रहरीले थप सक्रियाता बढाउनसमेत नागरिकले अवाज उठाएका छन् ।