जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्दा पौने १३ लाख रुपैयाँ खर्च

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्दा पौने १३ लाख रुपैयाँ खर्च भएको छ ।
गाउँपालिकाले गठन गरेको मुल आयोजक समिति र सरोकारबालाबीच शुक्रबार नेपालगन्जमा आयोजना गरेको समीक्षा बैठकमा बालविवाह मुक्त पालिका घोषणा कार्यक्रमको साझेदार संस्था स्याक नेपाल बाँकेका बालविवाह रोकथाम परियोेजना प्रबन्धक जगदीश थापाले हिसाब किताब सार्वजनिक गरेका हुन् । ६ वटा वडा र गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्दा १२ लाख ७० हजार खर्च भएको थापाले जाकारी दिए ।
बालविवाह मुक्त घोषणा कार्यक्रममा गाउँपालिकाको ६ लाख ३१ हजार, प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपालद्वारा सञ्चालित बालविवाह रोकथाम परियोजनाको ६ लाख एक हजार र त्रिवेणी समाजले ३८ हजार रुपैयाँ खर्च गरेका थिए ।

गत २९ भदौमा बाँके जिल्लाकै पहिलो स्थानीय तहको रुपमा जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूूमिसरा धितालले सम्भवतःः लुम्बिनी प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा भएको दाबी गरिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले सिंगो पालिकालाई बालविवाह मुक्त घोषणा गर्न पाउँदा गर्वको महसुस भएको बताएका थिए । समीक्षा बैठकमा जानकी गाउँपालिकाका जनप्रतिनिधि, साझेदार संघसंस्था, किशोरी र बालक्लब, नागरिक समाज र पत्रकारको सहभागिता रहेको थियो ।