महिला स्वास्थ्य स्वयंसेविका र चिराकीलाई साइकल उपहार

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरनगरपालिकाको वडा न ६ ले २४ जना महिला स्वास्थ्य स्वयंं सेविका र चिराकीलाई साइकल उपहार दिएको छ ।
वडाको आर्थिक सहयोगमा नारायणपुर जेसिजको आयोजनामा सोमबार वडाका विभिन्न टोलमा कार्यरत १२/१२ जना महिला स्वयंसेविका र चिराकीलाई साइकल वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका र चिराकीले दिने सेवा अझ प्रभावकारी होस् भनेर साइकल उपहार दिएको टीकापुर–६ का वडाअध्यक्ष बलीराम चौधरी बताउँछन् ।
साइकल पाएपछि जनताको सेवामा खट्न अझ सहज हुने भन्दै महिला स्वास्थ्य स्वयंसेविका र चिराकीले खुसी व्यक्त गरेका छन् । ‘आफूहरुलाई टोलटोलका घरमा स्वास्थ्य सेवा दिन सजिलो हुनेछ’, स्वास्थ्य स्वयंसेविका आशा चौधरीले बताउइन् । चिराकी भिख्खु डगौरा थारु पनि साइकल भएपछि गाउँमा खबर गर्न सजिलो हुने बताउँछन् ।