सेनिटरी प्याड निःशुल्क माग गर्दै नेपालगन्जमा किशोरकिशोरी प्रदर्शनमा

नेपालगन्ज : सेनेटरी प्याड निःशुल्क व्यवस्था गर्न नेपालगन्जका किशोरीले संघीय र स्थानीय सरकारसँग माग गरेका छन् ।
मंगलबार बिहान नेपालगन्जको वीपी चोकमा भेला भएका किशोरीहरुले सेनेटरी प्याड निःशुल्क गर्नुपर्ने, प्याडमा कर मिनाहा गर्नुपर्नेलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत संघीय सरकारलाई र नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरलाई ज्ञापन पत्र बुझाएका थिए ।


किशोरीहरुले सेनिटरी प्याड स्वास्थ्य चौकीमा निःशुल्क व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारले प्याडको गुणस्तर मापन गर्नुपर्ने, प्याड सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र महिनावारीको बेला गरिने धार्मिक र सांस्कृतिक कुसंस्कार अन्त्य गर्नुपर्ने ५ बुँदे माग गरेका छन् ।
नगर उपप्रमुख थापा मगरले नेपालगन्जका सामुदायिक विद्यालयमा निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिएको र सम्भव भएसम्म स्वास्थ्य संस्थामा पनि निःशुल्क राख्ने व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिएकी थिइन् ।
पुरुषका लागि स्वास्थ्य संस्थामा कन्डम निःशुल्क वितरण गरे जस्तै महिलाको लागि पनि सेनेटरी प्याड पनि निःशुल्क वितरण गर्नुपर्ने किशोरीहरुले माग गरेका छन् । उनीहरु भन्छन्, ‘कण्डम इच्छा हो भने सेनिटरी प्याड आवश्यकता हो ।’