नेपालगन्ज उपमहानगरका वडाबाटै राजश्व संकलन गर्ने तयारी

नेपालगन्ज :  नेपालगन्ज उप–महानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ ।
जीआइजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको सूचना प्रविधि तथा विद्युतीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाको कार्यालयबाट मात्रै भइरहेका केही राजश्व संकलनको कार्य केही समयभित्रै वडा कार्यालयबाट हुने जानकारी दिएकी हुन् ।
उपमहानगरपालिका सूचना प्रविधी मैत्री बन्ने प्रयास गरिरहेको छ , उपप्रमुख मगरले भनिन्, ‘कर्मचारी र जनप्रतिनिधिसँगै सेवाग्राही पनि सूचना प्रविधिमैत्री हुन जरुरी छ ।’ सूचना प्रविधीको प्रयोगसँगै तथ्यांकको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेपालगन्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम वर्माले वडा तहबाट राजश्व संकलनको काम गर्नका लागि इन्टरनेटसँगै इन्ट्रानेट जडान भइसकेको बताए ।