नेपाल आइडल सिजन ४ को ‘जज अडिसन’ नेपालगन्जमा सुरु

 नेपालगन्ज : नेपाली टेलिभिजन ईतिहासकै ठूलो फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ को नेपालगन्जमा जज अडिसन उत्साहजनक रुपमा सुरु भएको छ । यसअघि डिजिटल अडिसनमा छनौटमा परेर जज अडिसन दिन आएका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८० जना प्रतिभाहरुको सहभागिता रहेको थियो ।
कोरोना महामारीकै समयमा दर्शकलाई गीत संगीतबाट मनोरञ्जन दिने र उत्साह जगाउने उद्देश्यसहित सुरु भएको अडिसनका सहभागिहरुले सांगितिक क्षेत्रमा प्रवेशका लागि भविष्य बनाउन नेपाल आईडल सहयोगी हुने अपेक्षा गरे ।


कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा फरक र सशक्त रुपमा ल्याउने तयारी प्रोडक्सन टिमले गरेको छ ।
सिजन ४ को अडिसनमा अघिल्ला सिजनभन्दा फरक नया निर्णायक र प्रस्तोताहरु रहेका छन । यस सीजनमा दर्शकहरुले नयाँ जजको नयाँ निर्णय र नयाँ एंकरको नयाँ फरक प्रस्तुती हेर्न पाउने नेपाल आईडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलेको भनाई छ । ‘अघिल्ला तीनवटा सिजन भन्दा सिजन ४ केही फरक हुने छ’ उनले भने ।
यसअघि विराटनगरमा पहिलो अडिसन सम्पन्न भएको थियो । यसपछि दशैं अगाडी नै पोखरामा पनि जज अडिसन सम्पन्न हुने र काठमाडौँमा भने दशै र तिहारको बिचमा अडिसन हुने आयोजकले जनाएको छ । सिजन ४ को निर्णयकमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुबानी मोक्तान रहेका छन भने असिफ शाह र रेश्मा घिमिरेले होस्ट गरिरहेका छन् ।