पत्रकार महासंघ बाँकेद्वारा ३५३ पत्रकारको दुर्घटना बिमा

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लामा कार्यरत तीन सय ५३ पत्रकारका लागि दुर्घटना बिमा गराएको छ ।
महासंघका सदस्य तीन सय २३ र महासंघको सदस्य नभए पनि जिल्लामा कार्यरत ३० जना पत्रकारको दुर्घटना बिमा गरिएको हो । शुक्रबार नेपालगन्जमा आयोजना गरेको दुर्घटना बिमा, कोभिड सम्मान तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी र सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक गोविन्द उपाध्यायबीच पोलिसी सम्झौतामा हस्ताक्षर गरिएको हो । प्रबन्धक उपाध्यायले दुर्घटना हुँदा पत्रकारले अधिकतम् दुई लाख रुपैंयाँसम्म पाउने जानकारी दिए । अध्यक्ष भण्डारीले अधिकांश पत्रकार मोटरसाइकल र स्कुटर चढ्ने भएकाले बिमा गरिएको बताए ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल सरकारले पत्रकारको लागि गरेको दुर्घटना बिमामा सूचना तथा प्रसारण विभागको परिचय खोज्ने भएकाले झन्झटिलो भएको बताए । उनले बाँकले जस्तै महासंघका अन्य शाखाले पनि जिल्ला जिल्लामा दुर्घटना विमा गरेको बताएका थिए ।
कार्यक्रममा कोरोनाको बेलामा महासंघलाई सहयोग गर्ने स्वास्थ्यकर्मी र सहयोगी दातालाई सम्मान गरिएको थियो ।
महासंघको निःशुल्क स्वास्थ्य परामर्शदाता फिजिसियन डा.सुवास योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठ, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, गैसस महासंघका अध्यक्ष नमस्कार शाह, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका ल्याब टेक्निसियन दीपक शर्मा, जे शर्मा मेडिकलका सञ्चालक जीवन शर्मा, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्का, बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाह, व्यवसायी विवेकराज भण्डारी र दीपेन्द्र विष्टलगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका पूर्वअध्यक्षहरु लियाकत अलि, झलक गैरे, रुद्र सुवेदी, निरज गौतम, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख झंकर रावल, नेपाल वारका केन्द्रीय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, इन्सेकका भोला महत, प्रेस संगठन जिल्ला अध्यक्ष डक्टप्रसाद धिताल, प्रेस चौतारी जिल्ला अध्यक्ष हेमन्त विक, प्रेस यूनियन जिल्ला अध्यक्ष अर्जुन ओली, प्रेस मञ्च केन्द्रीय उपाध्यक्ष आशिष गुप्ता, बाँके राष्ट्रिय निकुञ्ज प्रमुख श्यामकुमार शाह र महासंघ बाँके शाखा उपाध्यक्ष संगीन शर्माले पत्रकारको सुरक्षाका बारेमा धारणा राखेका थिए ।