महिला भलिबल : नेपालगन्ज, कोहलपुर, बैजनाथ र राप्तीसोनारी सेमिफाइनलमा प्रवेश

खजुरास्थित शुक्र भलिबल स्टेडियममा जारी बाँकेको पालिकास्तरिय महिला भलिबल प्रतियोगिता । फोटो सौजन्य : विश्वराज पछल्ङग्या

नेपालगन्ज : बाँकेको पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बाँके जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको समितिका अध्यक्ष मोहित शाहले जानकारी दिए । जानकी, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिका प्रारम्भिक चरणबाट बाहिरिएका छन् ।
शनिवार बिहान भएको खेलमा जानकी गाउँपालिकालाई बैजनाथ गाउँपालिकाले सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरि, कोहलपुरले खजुरा गाउँपालिकालाई पनि सोझो सेटमा पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
शनिबार नै भएको खेलमा राप्तीसोनारीले खजुरालाई र नरैनापुरले जानकीलाई पराजित गरे । दिउँसो भएको खेलमा कोहलपुरले डुडुवालाई र राप्तीसोनारीले पनि डुडुवालाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
यसैगरी, नेपालगन्जले बैजनाथ र नरैनापुर गाउँपालिकालाई पराजित गरि नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेको हो । आइतवार चार वटा पालिकाबीच सेमिफाइनलका खेल हुने र सोही दिन नै फाइनल खेल हुने राष्ट्रिय एम्पायर प्रकाश शर्माले जानकारी दिए ।
गाउँ–गाउँबाट महिला भलिबल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न आयोजना गरेको प्रतियोगितामा प्रथम टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउनेछन् ।