‘बाँके निकुञ्ज पर्यापर्यटन क्षेत्र, कोहलपुरको खड्गवार पर्यटकीय क्षेत्र र हरित वडा’

खड्गवार (बाँके) :  बाँकेको कोहलपुर नगरपालिकाको खड्गवार क्षेत्रलाई पर्यटकीय क्षेत्र र हरित वडाको रुपमा प्रचारप्रसार गर्न प्रेस चौतारी नेपालले सञ्चारकर्मीसँग आग्रह गरेको छ ।
प्रेस चौतारीले शनिबार खड्गवार क्षेत्रमा आयोजना गरेको पर्यापयर्टन प्रबद्र्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा ७ बुँदे घोषणापत्र जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘कोहलपुर नगरपालिका १३ खड्गवारलाई पर्यटकीय क्षेत्रको विकास र हरित वडाको रुपमा प्रचारप्रसारमा प्रेस चौतारीआवद्ध पत्रकारले आफ्ना सञ्चारमाध्यममा समाचार प्रकाशन, प्रसारण गर्न भेला प्रतिबद्ध छ’, घोषणापत्रमा भनिएको छ, ‘बाँके राष्ट्रिय निकुञ्जलाई पर्यापर्यटनका रुपमा विकास गर्न सकारात्मक समाचारहरु प्रकाशन ,प्रसारण गरि सहकार्य गर्न भेला प्रतिबद्ध छ ।’
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष सविन प्रियासन, सचिव भरत केसी, लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, एमाले बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालले भेलाको सफलताको कामना गरेका थिए । सो अवसरमा बाँके निकुञ्जका वार्डेन श्याम साह, गाभर होमेस्टेका अध्यक्ष कृष्ण चौधरी, नेपालगन्ज १ का वडा अध्यक्ष प्रमोद रिजाल, कोहलपुर नगरपालिका वडा नं. १३ का अध्यक्ष ओमप्रकाश ओलीलगायतले बाँके निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताएका थिए । प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके शाखा उपाध्यक्ष विनोद भट््टराईले स्वागत मन्तव्य र केन्द्रीय सदस्य रुद्र सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । सोही अवसरमा हरित अभियन्ता हेमन्त काफ्लेले प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतमार्फत खड्गवार होमस्टे क्षेत्रमा सितल चिनी र निमका बिरुवा लगाएका थिए ।

प्रेस चौतारी नेपाल खड्गवार भेलाको घोषणापत्र यस्तो छ :
१. विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु कोरोना महामारीका कारण आर्थिक समस्यामा परेका छन् । ।कतिपय पत्रकारहरुलाई सञ्चारमाध्यमले कामबाट निकालिदिने, समयमा पारिश्रमिक नदिने कार्यप्रति खेद प्रकट गर्दै कामबाट निकालिएका पत्रकारलाई काममा फर्काउन र तत्काल पारिश्रमिक उपलब्ध गराउन भेला माग गर्दछ,
२. लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक पत्रकारमैत्री नभएकाले अविलम्व संशोधनका लागि भेला माग गर्दछ,
३. आर्थिक वर्ष २०७७र०७८ को जेष्ठ र असार महिलाको लोक कल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तानी गर्न भेला माग गर्दछ,
४. कोहलपुर नगरपालिका वडा न १३ खड्गवारलाई पर्यटकीय क्षेत्रको विकास र हरित वडाको रुपमा प्रचारप्रसारमा प्रेस चौतारी आवद्ध पत्रकारले आफ्ना सञ्चारमाध्यममा समाचार प्रकाशन, प्रसारण गर्न भेला प्रतिबद्ध छ,
५. मुलुककै कान्छो राष्ट्रिय निकुञ्जको रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्जलाई पर्यापर्यटनका रुपमा विकास गर्न सकारात्मक समाचारहरु प्रकाशन, प्रसारण गरि सहकार्य गर्न भेला प्रतिबद्ध छ,
६. लुम्बिनी प्रदेश सरकारले पत्रकार कल्याणकारी कोषको रकम कटाएर आफ्नो पार्टी निकटका केही मिडियालाई वितरण गरिएकाले यस्तो कार्य बन्द गर्न भेला माग गर्दछ,
७. प्रेस चौतारी नेपाल बाँके शाखाको आयोजनामा गरेको भेलाबाट शुभ दीपावली, छठ, मोहम्मद डेलगायत चाड पर्वको अवसरमा देश विदेशमा भएका नेपालीहरुमा हार्दिक शुभकामना दिने भेलाबाट पारित गरियो ।