५ वर्षमा ३ दिन मात्र चलेको नेपालगन्ज भन्सारको एक्सरे मेसिन अलपत्र

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयको जमुनाहास्थित यात्रु शाखामा जडान गरिएको एक्सरे मेसिन ५ वर्षदेखि अलपत्र परेको छ ।
भारतबाट आएका यात्रुले बोकेका झोला तथा ल्याएका सामग्री जाँच गर्न भन्दै पाँच वर्ष अघि नेपालगन्ज भन्सार कार्यालयमा ल्याएर थन्क्याइएको मेसिनलाई १ कार्तिक २०७६ यात्रु शाखामा जडान गरिएको थियो । करिव डेढ करोडको लागतमा ल्याइएको उक्त मेसिन जडान गरेको तीन दिनमै बिग्रिएको भन्दै हालसम्म बेवारिसे अवस्थामा थन्क्याइएको छ । नेपालगन्ज भन्सारका प्रमुख जयबहादुर भण्डारीका अनुसार एक्सरे मेसिन मर्मत गरेर सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभाव हुनुका साथै प्रयाप्त रुपमा बजेट नभएर सञ्चालन गर्न नसकिएको हो ।
भारतबाट आउने नेपालीहरुले जाँचका नाममा दुःख पाउनुका साथै दैनिक उपभोग्य सामग्री किन्न सिमावर्ती भारतीय बजार जानेहरूबाट हुने तस्करी, लागूऔषधलगायत नियन्त्रणमा सहज हुने मेसिन बेवारिसे अवस्थामा छाड्नु दुखद भएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरिन्जीवी ओलीले बताए । मेसिन सञ्चालनमा नआउँदा हाल भन्सार कर्मचारीले हातले छामेर झोलाका सामान जाँच गर्दै आएका छन् । यता नेपालगन्ज भन्सारले भने यो मेसिनको खासै काम नभएकोले ५-६ महिनाभित्रमा पूरै गाडी जाँच गर्न सकिने अर्को स्क्यानर मेसिन जडान गर्न थालेको जनाएको छ ।