किन हुन्छ, ट्राफिकको चेकिङ एकान्त र सुनसान ठाउँमा ?

मानबहादुर ठकुल्ला । टीकापुर
बर्दिया र कैलाली जोड्ने कर्णाली सत्तीघाट पुल क्षेत्र सवारी चाप हुने क्षेत्र हो न त्यहाँ भीँड हुन्छ । त्यो दुर्घटना क्षेत्र पनि होइन । टीकापुर नगरपालिका वडा न ७ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट सत्तीको टोलीलाई चेकिङका लागि यही ठाउँ प्रिय लाग्छ । चाहे चाडपर्व नजिकिएको बेला होस् वा ट्राफिक प्रहरीलाई फुर्सद मिल्दा नेपाल प्रहरीको सहयोगमा यही ठाउँमा ट्राफिक चेकिङ हुन्छ किन ? ‘रकम असुली गर्न एकान्त र सुनसान ठाउँमै चेकिङ हुन्छ’, एक अटो चालकले अनुभव सुनाए, ‘जहाँ बस्ती हुँदैन । जंगल मात्र छ । बस्ती र पैदल ओहोरदोहोर नहुने भए पनि अटो, ट्याक्टर र मोटरसाइकलको चहलपहल भइरहन्छ । त्यहाँ कसैले देख्दैन । सवारी चालकसँग रकम असुली गर्न सजिलो हुन्छ । त्यस्तो ठाउँ ट्राफिक प्रहरीले चेकिङका लागि रोज्छन् ।’
टीकापुरमा मात्र होइन, कैलाली जिल्लामा अधिकांश स्थानमा ट्राफिक प्रहरीले एकान्त र सुनसान ठाउँमा ट्राफिक चेकिङ गरिरहेका छन् । व्यवसायीको आरोप र गुनासोलाई ट्राफिक प्रहरी स्वीकार गर्दैनन्, आरोप मात्र भएको जिकिर गर्छन् । अस्थायी ट्राफिक प्रहरी पोष्टका सत्तीका प्रहरी हवल्दार योगेन्द्र मल्ल आफूहरुले कसैसँग पनि महिनावारी रुपमा रकम नउठाएको बताउँछन् ।
‘ट्राफिक चेकिङ बेलामा पदैल यात्रीलगायत अन्यलाई समस्या नहोस भनेर नै एकान्त ठाउँमा चेकिङ गरिन्छ । जहाँ भिडभाड हुन्छ, त्यहाँ सडक सचेतना कार्यक्रम सञ्चालन हुने गरेको छ’, प्रहरी हवल्दार योगेन्द्र मल्लले भने, ‘एकान्त र सुनसान ठाउमा चेकिङ्ग गर्दा सडकमा भीडभाड नहोस् । जहाँ भीडभाड हुन्छ, त्यहा चेकिङ्ग गर्दा दुर्घटना हुने सम्भावना हुन्छ । कतिपय कुलतमा फसेका युवाहरु ट्राफिकलाई सडकमा देख्ने बित्तिकै अन्धाधुन्धरुपमा सवारी साधन फर्काएर भाग्छन् । कोही ट्राफिकको नजिक पुगेपछि स्पिडमा भाग्छन् । त्यसका लागि पनि एकान्त र सुनसान रोजिन्छ ।’
असुलीमा नेपाल प्रहरीको मिलोमतोबारे प्रहरी चौकी सत्तीका इन्चार्ज चंखबहादुर कठायत ट्राफिक चेकिङसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताउँछन् । कठायतले प्रष्ट पारे, ‘ट्राफिक चेकिङ उनीहरुको काम र जिम्मेवारी हो । यस विषयमा मलाई केही पनि थाहा छैन ।’ ग्रामीण क्षेत्रको अस्थायी ट्राफिक पोष्ट भए पनि ट्राफिक प्रहरी पोष्ट सत्तीले मासिक ३५-४० हजारको हाराहारीमा राजस्व संकलन गर्ने गरेको जनाएको छ । ट्राफिक सचेतनाभन्दा एकान्तमा असुली र राजस्व संकलनमा जुटेको देख्दा सवारी चालक प्रश्न गर्छन्, ‘ट्राफिक प्रहरी भनेको सवारी चालकलाई सुरक्षित यातायात सेवामा सहजीकरण गर्ने निकाय हो कि राजस्व संकलन गर्ने अड्डा हो ?’