सल्यान दुर्घटनामा १० महिला र २ पुरुष गरी १२ को मृत्यु, १० जनाको सनाखद

नेपालगन्ज : सल्यानको खलंगादेखि दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये १० जनाको सनाखद भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना हुँदा दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए। एक बालक र एक महिलाको सनाखत हुन बाँकी रहेको समाचार सेतोपाटीले प्रकाशित गरेको छ । सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। केही घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ। त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ। बसमा ३० यात्रु सवार रहेका थिए। चालक अहिलेसम्म सम्पर्कविहीन छन्।
मृतकमध्ये दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी र शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वली रहेको पुुष्टि भएको छ । यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।
त्यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया प्रर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ।