उपमहानगरपालिकाकै विद्यालयको बिजोग : शिक्षक ५ जना विद्यार्थी ६ जना
लक्ष्मण ढुंगाना । नेपालगन्ज
शिक्षक पाँच जना, विद्यार्थी उपस्थित संख्या ६ जना मात्रै । यो अवस्था बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ७ रानीतलाउ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको हो । गत सोमबार मध्यान्ह १२ः३० बजे विद्यालयको स्थलगत अवलोकनका क्रममा त्यहाँ पुग्दा ६ जना मात्रै विद्यार्थी कक्षा कोठामा भेटिए । जसमध्य कक्षा ४ मा ५ जना र कक्षा ३ मा १ जना विद्यार्थी अध्ययन गरिरहेका थिए ।
विद्यार्थी नआउनुको कारणको जिज्ञासामा प्रधानाध्यापक सकिल अहमद अन्सारीले भने ‘हिजो अस्तीसम्म ४० जनासम्म विद्यार्थी आउँथे । मेला हेर्न गएका कारण आज विद्यार्थी नआएका हुन् ।’ नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयबाट झण्डै २ किलोमिटर नजिकै रहेको यस विद्यालयको हाजिरी रजिस्टरमा कूल एक सय १५ जना विद्यार्थी भर्ना भएको तथ्याङ्क छ । तर विद्यालयमा ५ जना शिक्षकको दरबन्दी भए पनि ज्यादै न्यून मात्र विद्यार्थी उपस्थित हुने गरेका छन् ।
२०२८ सालमा स्थापना भएको विद्यालयमा यसअघि विद्यार्थीको उपस्थिती संख्या राम्रो भए पनि नजिकैको अर्को मावि तहको विद्यालयमा ५ कक्षा मुनि विद्यार्थी भर्ना गर्नुका साथै गरिबीका कारण काममा पठाउँदा विद्यार्थी नआउने गरेको प्रधानाध्यापक अन्सारीले बताए । ‘विद्यार्थी ज्यादै न्यून उपस्थित हुन थालेपछि शिक्षकहरु पालैपालो घरघरै गएर विद्यार्थी पठाउन अनुरोध गर्ने गरेका छन् तर पनि आउँदैनन’, उनले भने । नेपालगन्ज उपमहानगरपालिकाले विद्यार्थीको संख्या ज्यादै न्यून उपस्थिति रहेको पाइएको जनाउँदै कार्यविधि बनाएर दरबन्दी मिलानका साथै व्यवस्थित पढाइका लागि नजिकैको विद्यालयमा मर्ज गर्ने योजना बनाएको जनाएको छ ।