केपी ओली ‘हिरो’ भनेको त ‘भिलेन’ रहेछन् : प्रचण्ड

मानबहादुर ठकुल्ला । भजनी (कैलाली)
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भिलेको संज्ञा दिएका छन् ।
कैलालीको भजनी नगरपालिकाको नव निर्मित भवनको बुधबार उदघाटन गर्दै प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले एमालेसँग पार्टी एकता गरे पनि ओलीकै कारण त्यो सपना पूरा नभएको बताए । उनले भने, ‘एक शक्तिशाली विशाल कम्युनिस्ट पार्टी स्थापना गर्न भनेर पार्टी एकता गरियो तर पार्टी एकता गरिएको मान्छे हिरो होला भन्ने सोचेको थिए भिलेन पो परेछ । त्यो काम पनि अधुरै रह्यो ।’
उनले गणतन्त्र र संघीयताविरुद्ध केही तत्वहरु सडकमा सल्बलाउन थालेको भन्दै आवश्यक परे फेरि विद्रोह गर्ने चेतावनी दिए ।
नेपाली जनताको लामो संघर्ष र बलिदानले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै उनले जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाइ लड्नुपरे पनि आफू तयार रहेको बताए । जनताको संघर्ष र बलिदानले स्थापित लोकतान्त्रिक गणतन्त्र ,जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्वहरु सडकमा उफ्रिदैमा जनताको शासन व्यवस्था खोस्नसक्ने अवस्था नरहेको उनको भनाइ थियो
सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको लागि आवश्यक काम थालिसकिएको समेत उनले जानकारी दिए । ‘हामी गरिब ,भूमिहीन सुकुम्बासीको दीगो रूपमा समस्या समाधानको लागि प्रयत्नरत छौं’– प्रचण्डले भने पूर्वबाट भूमिहीनहरुलाई लालपूर्जा वितरणको काम सुरु भैइसकेको छ । आउने चुनावसम्म देशभरका सुकुम्वासीलाई लालपूर्जा दिइनेछ ।