खजुराको ५ र ६ नं. वडा बालविवाह मुक्त घोषणा

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाको वडा नं. ५ र ६ लाई पनि बुधबार बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले दुबै वडालाई बालविवाह मुक्त घोषणा गरेर वडा नं. ५ का वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठ र वडा नं. ६ का वडा सदस्य जगबहादुर कामीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । अध्यक्ष कक्षपतिले बालविवाह मुक्त भएका वडालाई पूर्ण रुपमा बालविवाह मुक्त गराउन सरोकारवाला निकायले चासो लिनुपर्नेमा जोड दिए ।


वडा नं. ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा प्लान नेपालका भुवन चटौत, स्याक नेपालका शिवलाल पाण्डे, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बालविवाह मुक्त घोषणा कार्यान्वयनको लागि सरोकारवाला सबैको साझा दायित्व भएको बताएका थिए ।

सो अवसरमा वडालाई बालविवाह मुक्त गर्न सहयोग पु-याउने व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. १ र ३ यसअघि नै बालविवाह मुक्त घोषणा भइसकेका छन् ।