बाँकेमा २१६ बालिका हराए

बाँकेमा लैङ्गिक हिंसाबिरुद्धकोे १६ दिने अभियानको नेपालगन्जमा पत्रकार सम्मेलन 

नेपालगन्ज :  बाँकेमा ३ आर्थिक वर्षमा २ सय १६ जना बालिका हराएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले उपलब्ध गराएको त्रिवर्षीय तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ देखि चालु आर्थिक वर्षसम्म ७ सय ४८ जना हराएकोका छन् । हराउनेमा बालिका मात्रै २८.८७ प्रतिशत छन् । नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाह हराउने महिलाहरु अधिकांश जोखिममा रहेको बताउँछिन् । ‘प्रहरीमा सुरुमा हराएको जाहेरी दिन्छन् । फेला परेको भनेर खबर गर्दैनन् । कति त भेटिँदैनन्’, प्रमुख शाहले भने, ‘हराएका बालिकालाई बेचबिखनको खतरा हुन्छ । कति बालविवाहका कारण घरबाट भाग्छन् । परिवारले हराएको जाहेरी दिन्छन् । कति त सानो उमेरमा नै धेरै कमाउने महत्वाकांक्षा कारण घरबाट भाग्छन् । जसरी हराए पनि सबै जोखिममै हुन्छन् ।’
प्रहरीले आपतकालीन अवस्थामा उद्दार गरेकामध्ये महिला र बालिकाको संख्या धेरै नै छ । तीन आर्थिक वर्षमा एक सय ८१ जनालाई उद्दार गरिएकोमा एक सय नौ जना त महिला र बालिका छन् । जुन कूल उद्दार गरिएका महिलाको ६०.२२ प्रतिशत महिला र बालिकाको रहेको छ । महिलाको संख्या ५९ र बालिकाको संख्या ५० रहेको छ । जिल्लामा तीन वर्षको अवधिमा एक हजार पाँच सय ३८ वटा घरेलु हिंंसाका घटना प्रहरीमा उजुरी परेका छन् । ०७६/७७ मा पाँच सय १८, ०७७/७८ मा ७ सय ३८ र चालु आर्थिक वर्षमा २ सय ८२ वटा उजुरी परेका थिए ।