बर्दियाका दुबै क्षेत्रमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित

गुलरिया : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बर्दियाका दुबै संघीय निर्वाचन क्षेत्रमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा क्षेत्र नं. १ बाट सभापतिमा संस्थापन पक्षका मुक्तिनाथ यादव र क्षेत्र नं. २ बाट दीपकजंग शाह निर्वाचित भएका हुन् । यादव लगातार तेस्रो पटक र शाह चौथो पटक निर्वाचित भएका हुन् ।
क्षेत्र नं. १ मा ७ सय ७४ मत खसेकोमा गुलरिया नगरपालिकाका मेयर समेत रहेका यादवले ३ सय ७३ र संस्थापन इतर पक्षका शम्भुप्रसाद रिजालले ३ सय ५९ मत प्राप्त गरे । रिजाल २२ मतले पराजित भए । यस्तै, क्षेत्र नं. २ मा ८ सय ३३ मत खसेकोमा संस्थापन पक्षका शाहले ५ सय ८० र संस्थापन इतर पक्षका रेग्मीले २ सय ६४ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर २ मा पूरै प्यानल संस्थापन पक्षका निर्वाचित भएका छन् ।
संस्थापन पक्षले पार्टीभित्रको व्यक्तिगत स्वतन्त्रता नै हनन् हुने गरि चुनाव लड्न नदिने तानाशाही प्रवृति लागू गरेको इतर पक्षको आरोप छ । ‘पार्टीभित्रको आन्तरिक अधिवेशनमा भोटरलाई कडा निगरानी गरी स्वतन्त्रतापूर्वक लड्न नसक्नु दास मनोवृत्ति हो ।’ केन्द्रीय महाधिवेसन प्रतिनिधिका उम्मेदवार तेजबहादुर भाटले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । ‘स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, कसैलाई बधुँवा बनाउनु वा बन्नु हुँदैन ।’