कांग्रेस बाँके क्षेत्र नं. १ को सभापतिमा केसी र क्षेत्र नं. २ मा गुप्ता विजयी

पोषण केसी

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी र क्षेत्र नं. २ मा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ मा कांग्रेस संस्थापन इतरबाट केसीले निवर्तमान सभापति माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका थिए । ६ सय १ मत रहेकोमा केसीको पक्षमा ३१६ र खत्रीको पक्षमा २६९ मत खसेको थियो । सचिवमा केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दीपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।

                रमेशकुमार गुप्ता

त्यसैगरी, शनिबार सम्पन्न कांग्रेस बाँके क्षेत्र नम्बर २ को सभापतिमा संस्थापन पक्षबाट रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ताले वीरेन्द्रबहादुर शाहलाई ४८ मतान्तरले हराएका थिए । ४ सय ३८ मत खसेकोमा गुप्तले २ सय ३९ मत र शाहले १ सय ९१ मत पाएका थिए । सचिवमा सुनिलसिंह हमाल २६३ र प्रदीप साहु २५० तथा सहसचिवमा तरुण बज्राचार्य २७१ र सब्बिर खाँ २१८ मतका साथ विजयी हुनुभएको छ । उनीहरु पनि गुप्ता प्यानलबाट निर्वाचित भएका हुन् । सचिवका अन्य दुई प्रतिष्पर्धी आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत प्राप्त गर्नुभयो । सहसचिवका अन्य दुई प्रतिष्पर्धी रमेश तिमिल्सिना १७१ र ओमप्रकाश चौहानले १४२ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्बर २ मा ४५१ मतमध्ये ४३८ मत खसेको जनाइएको थियो ।