ओली एमालेको दोस्रो पटक अध्यक्ष निर्वाचित
नेपालगन्ज : नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
एमालेको मंगलबार चितवनको सौराहामा सम्पन्न १०औं महाधिवेशनले ओलीलाई दोस्रो कार्यकालको लागि पनि अध्यक्षमा निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रत्यासी भीमबहादुर रावललाई एक हजार पाँच सय ८५ मतको अन्तरले हराएर ओली अध्यक्ष निर्वाचित भएका हुन् । ओलीले एक हजार ८ सय ८ मत पाए भने रावलले २ सय २३ मत मात्र पाएका थिए । रावलले १०.६३ प्रतिशत मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य (१९७६), सुरेन्द्र पाण्डे (१९२५) सुवासचन्द्र नेम्वाङ (१८६५), विष्णु पौडेल (१८५६), युवराज ज्ञवाली (१८४२) र रामबहादुर थापाले १७६८ मत पाएर विजयी भए । उपाध्यक्ष पदका प्रत्यासी घनश्याम भुसालले ७२५ मत मात्र पाएका थिए । उनले पाएको मत ३४.५८ प्रतिशत हो ।
एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । सचिव र सदस्य पदको मत गणना जारी छ । विजेताबारे एमाले निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन ।