नेपालगन्ज वाकाथनमा गायक प्रकाश सपुत आउँदै

नेपालगन्ज : बास नेपालको आयोजना तथा अन्तरालको व्यवस्थापनमा हुन थालेको नेपालगन्ज वाकाथनमा लोक गायक प्रकाश सपुत आउने भएका छन् ।
भ्रष्टाचारविरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्बर अर्थात २३ मंसिरमा आयोजना गरिने वाकाथनमा गायक सपुतको उपस्थिति हुने आयोजक बासका कार्यकारी निर्देशक नमस्कार शाहले जनाएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपालगन्ज वाकाथनमा बहुचर्चित गायक प्रकाश सपुतको विशेष उपस्थिति रहने भएको छ । धेरै धेरै धन्यवाद प्रकाशजी ।’
वाकाथन नेपालगन्जको वीपी चौकबाट शुरु भएर धम्बोझी चौक, सेतुविक चौक हुँदै, न्यूरोडमा गएर समापन हुनेछ । वाकाथनमा सांस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगितालगायतका गतिविधिहरु हुनेछन् । वाकाथन भनेको पैदल यात्रा गर्नु हो । कुनै निश्चित उद्देश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दूरी पार गर्नुलाई वाकाथन भनिन्छ ।