राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवल विजयी

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
आइतबार बिहान सकिएको मतगणना अनुसार लिङ्देनले कमल थापालाई २२७ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार लिङ्देनले एक हजार आठ सय ४४ मत पाउँदा पराजित थापाले एक हजार ६ सय १७ मत पाए । अध्यक्षमा पराजित भएका थापाले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । पराजित भएपछि बिहानै ट्वीट गर्दै अध्यक्षमा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।

थापाले पार्टीको आन्तरिक प्रतिष्स्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन् । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८ सय ७३ मत खसेको थियो । राप्रपाको महामन्त्रीमा नेपालगन्जका डा.धवल शम्शेर राणा विजयी भएका छन् । राणा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पनि हुन् । लामो समयपछि राप्रपामा भएको नेतृत्व परिवर्तनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।