नेपालगन्जमा २३ महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले २३ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको छ ।
१८औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस-२०७८ को अवसरमा आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा प्रत्येक वडाबाट एक एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, लेखा अधिकृत लोकेन्द्र रावतलगायतले महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेका थिए ।
महिला स्वास्थ्य स्वयं सेविका संघका अध्यक्ष मनकुमारी सिलवालले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै आफूहरुका लागि राज्यले जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गरिन् । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दका अनुसार नगरमा १६८ जना स्वास्थ्य स्वयं सेविका कार्यरत छन् ।