धानको समर्थन मूल्य समयमै तोकिए पनि अझैं खरिद भएन

नेपालगन्ज : सरकारले यस वर्ष २९ भदौको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोक्यो । समयमै मूल्य तोकेको भन्दै बाँकेका कृषकहरु खुसी भए तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म पनि धान खरिद नगर्दा कृषकहरु व्यवसायी कहाँ सस्तोमा धान बेच्न बाध्य छन् ।
धान खरिदमा निकै ढिलाइ भएपछि यतिबेला नेपालगन्जको कारकाँदोस्थित कम्पनीको मुख्य शाखा कार्यालयमा धान कहिले खरिद होला भनेर दैनिक रुपमा किसानहरु आउँने जाने गरेका छन् । उनीहरु धान बेचेर हिउँदे बाली लगाउन मल बिउको जोहो गर्नुपर्ने भए पनि धान बिक्री नहुँदा समस्या भएको बताउँछन् ।

धम्बोजीस्थित गल्ला व्यवसायीलाई धान बेच्दै किसान । फोटो : मेरो खुसी

यता खाद्य कम्पनीले भने केन्द्रबाट कोटासहितको परिपत्र आउनमा ढिलाइ भएका कारण समयमै खरिद हुन नसकेको जनाएको छ । भर्खरै मात्र कोटासहितको परिपत्र आएकोले प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्रलगायतको प्राथमिक खरिद समितिसँग बैठक बसेर २ र ३ दिनभित्रै खरिद कार्य गरिने कम्पनी नेपालगन्जका मुख्य शाखा प्रमुख रामबहादुर विष्टले बताए । सरकारले यस वर्ष मोटा धानको मूल्य २७ सय ५२ रुपैयाँ र मध्यमको २९ सय २ रुपैयाँ तोकेको छ । उक्त मूल्यमा कम्पनीले यस वर्ष नेपालगन्जबाट २० हजार क्वीन्टल मोटा र ५ हजार क्वीन्टल मध्यम धान खरिद गर्ने लक्ष्य छ । खरिद प्रकृयामा ढिलाइ हुँदा यसक्षेत्रका धेरै किसानहरुले व्यवसायीसँग कम मूल्यमा धान बेचिसकेका छन् ।