कांग्रेसको लुम्बिनी प्रदेश समितिमा बाँकेबाट पत्रकार केसीसहित ७ सदस्य निर्वाचित

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहित सदस्यमा बाँकेका निर्वाचितहरु । फोटो : कमल खत्रीको फेसबुकबाट

नेपालगन्ज : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा बाँकेबाट ७ जना सदस्य पदमा पत्रकार प्रेम केसीसहित ७ जना निर्वाचित भएका छन् ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट खुल्ला सदस्यमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव केसी निर्वाचित भएका हुन् । त्यसैगरी महिला खुल्ला सदस्यमा अन्जना पाण्डे, बाँके जिल्लागत तर्फबाट प्रदेश सदस्यमा टेक नारायण भुसाल, दीक्षा कोइराला, मुस्लिम सदस्यमा इशाक जोलाहा, थारु महिला कृष्णा सापकोटा चौधरी र मधेसी महिलातर्फको प्रदेश सदस्यमा परमेश्वरी पाठक निर्वाचित भएका हुन् । निर्वाचित भएका सबै जना कांग्रेसको पौडेल इतर समूूहका हुन् ।
कांग्रेसको लुम्बिनी प्रदेश समितिमा संस्थापन पक्षबाट उपसभापति राजु खनाल बाहेक सबैसंस्थापन इतर समूहबाट विजयी भएका छन् । सभापतिमा संस्थापन इतरबाट अमरसिंह पुन ८५ मतले विजयी भए । सभापतिमा पुनले ८५२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी संस्थापनका भरतकुमार शाहले ७ सय ६७ मत ल्याए । अर्को उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ विजयी भएका छन् । महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भए । सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन् । महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भइन् । लुम्बिनी प्रदेशमा कूल १ हजार ६ सय ३१ मत खसेको थियो।