द्वन्द्वकालीन बेपत्ताका मुद्दा दर्ता आदेशको माग गर्दै पीडितद्वारा अदालतमा रिट दायर

नेपालगन्ज : द्वन्द्वकालीन बेपत्ता सम्बन्धी जाहेरी प्रहरी र सरकारी वकिल कार्यालयले दर्ता नगरेपछि बाँके र बर्दियाका बेपत्ता परिवारले अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा परमादेशको रिट दर्ता गरेका छन् ।
बाँके र बर्दियाका ४ बेपत्ता परिवारले सोमबार परमादेशको आदेशद्वारा बेपत्ता सम्बन्धी घटनाको जाहेरी दर्ताको आदेश गरि पाउँ भन्ने माग गर्दै उच्च अदालतमा रिट दायर गरेका हुन् ।
सुरक्षाकर्मीद्वारा बेपत्ता पारेका बाँकेका भुपेन्द्रराज उप्रेतीकी पत्नी चन्द्रकला उप्रेती र धनबहादुर कामीकी पत्नी देउसरा कमीनी, बर्दियाका राधुलाल थारुका बुवा पदम थारु र सुरेश वलीका पति देवीसरा वलीले परमादेशको रिट निवेदन दर्ता गरेको अधिवक्ता वसन्त गौैतमले बताए । रिट निवेदनको प्रारम्भिक सुनुवाइ आगामी मंसिर २६ मा पेशी तोकेको छ ।
नेपालगन्ज–१ धम्बोझीकी चन्द्रकला उप्रेती आफ्ना श्रीमान पति भुपेन्द्रराज उप्रेतीलाई मिति २३ मंसिर ०६० मा सुरक्षाकर्मीले नेपालगन्जबाट पक्राउ गरि तत्कलिन पृतना हेडक्वाटर इमामनगर राँझा बाकेमा लगेकोमा त्यहिँबाट निजलाई हालसम्म वेपत्ता पारिएको बताउँछिन् ।
कोहलपुर नगरपालिका–११ कालिकानगरकी देवीसरा विकले पति धनसिंह कामी (विक) समेत ५ जनालाई लाई सुरक्षाकर्मीले १३ वैशाख ०५९ राति घरैबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय कोहलपुरबाट बेपत्ता पारेको बताइन् ।
एडभोकेसी फोरमको कानूनी सहयोगमा जाहेरी दर्ता गराउन बर्दिया बानियाभारकी देवीसरा वली र मनाउका पदम थारु र गरिववा थारु ०७८ भाद्र २० गते आइतवार जिल्ला प्रहरी कार्यालय बर्दिया पुगेका थिए । सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हालसम्म बेपत्ता पारिएका सुरेश वलीको हकमा निजकी पत्नी देवीसरा वली जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुगेकी थिइन् । २०५९ साल पुष ७ गते बिहान ७ बजे, बर्दियाको भुरीगाउँ बजारबाट प्रहरीले एकछिन काम छ भनी बोलाएर गैरकानूनी पक्राउ गरि गाडीमा राखेर लगेको थियो । केहीबेर इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखी जिल्ला प्रहरी कार्यालय बर्दियामा लगेकोमा त्यहिबाट सुरेश वलीलाई हालसम्म बेपत्ता पारिएको छ ।
यसैगरी २९ चैत्र ०५८ मध्यरातमा घरघरैबाट नियन्त्रणमा लिइ बलपूर्वक बेपत्ता पारिएका बर्दिया मनाउका १९ बर्षिय राधुलाल थारु र १५ वर्षिय चिल्लु थारुसँगै एकैदिन सुरक्षाकर्मीले गैरकानूनी रुपमा पक्राउ गरिएका धनीराम थारु (१५), सोनी राम थारु (१४ बर्ष), प्रेमप्रकाश थारु (१८), कमला थारु (१६), मोहन थारु (१८), लौटी थारु (१८) को हकमा राधुलाल थारुका बुवा पदम थारु र चिल्लु थारुका बुवा गरिववा थारुले पनि संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त पेश गरेका थिए । प्रहरीले जाहेरी दर्ता नगरे पछि त्यसविरुद्ध २५ कार्तिकमा जिल्ला सरकारी वकिल कार्यालय बर्दिया पुगेका थिए । सरकारी वकिल कार्यालयले पनि यो मुद्दा बेपत्ता आयोगले हेर्ने भन्दै जाहेरी दर्ता गर्न इन्कार गरेपछि पीडित परिवार अदालत गएका हुन् ।