राजापुरका ४० अपांग बालबालिकालाई स्टेशनरी वितरण

शक्ति परियार । राजापुर
मन्द मुस्कान,एक सरो लुगा चिसो मौसममा लुखुर लुखर हिँड्दै बर्दिया राजापुर नगरपालिका वडा नं १० खैरी का ६ वर्षिय बालक अशान्त चौधरी निकै हर्षित देखिन्थे। आफ्नै गाउँमा रहेको चन्द्रदय प्राथमिक विद्यालय कक्षा १ मा अध्यनरत अशान्तले स्टेशनरी सामग्री पाएपछि निकै खुशी भएका हुन्।

 शुक्रबार प्लान इन्टरनेसनल नेपाल र श्याक नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिका शिक्षा शाखाले पालिकाका ४० जना अपाङ्ग बालबालिकालाई स्कुले झोला,१ दर्जन कापी,कलर,पेन्सिल,ज्यामिति बक्स, ड्रविङ कापी वितरण गरेको छ। पालिकाबाट अपांग परिचय पत्र पाएका ४० जनालाई यो सामग्री वितरण गरिएको शिक्षा प्रमुख दल बहादुर चौधरीले बताए। राजापुर नगरपालिका ५ बसन्ता बस्ने ९ वर्षिय कोमल चौधरी आफूले स्टेशनरी समान पाएपछि खुशी हुँदै भन्छिन्“अब त मन लगाएर पढ्छु,सधैं स्कूल जान्छु“। पालिका भित्रका अपांग बालबालिकालाई स्याक नेपाल तथा प्लान इन्टरनेसनल नेपालले विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। अपांग परिचय नपाएकालाई विद्यालयको सिफारिसमा पनि सामग्री वितरण गरिएको स्याक नेपालका फिल्ड अफिसर रेनुका चन्दले बताइन्।