जब रेखाको देउडा गीतमा अभिभावक, शिक्षक र विद्यार्थी नाँच्न थाले…

नेपालगन्ज : देउडा गायिका रेखा जोशीले जब ट्र्याकमा गीत गाउन मञ्चमा उक्लिन्, तब स्टेज भरियो । के अभिभावक, के शिक्षक अनि के विद्यार्थी सबै मञ्चमै पुगेर नाँच्न थाले ।
स्प्रीङडेल एकेडेमी नेपालगन्जले वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्ज १८ कारकाँदोस्थित विद्यालय परिसरमा आयोजना गरिएको एकीकृत कार्यक्रममा गायिका जोशीले दर्जन बढी गीत गाइन् । देउडा गीत मन नपर्नेले हात उठाउन् भन्दै मञ्चमा पुगेकी गायिका जोशीलाई गीतमा नृत्य गर्न सबैले साथ दिए । मञ्च नै भरिए पनि हटाउन हम्मेहम्मे परेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदप्रसाद न्योपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय इकाइ प्रमुख रामसुरेश यादव, नेपालगन्ज उप–महानगरपालिका प्रतिनिधि एवम् वडा १२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदी, वडा नं. १२ का सदरुय दीग्विजय ढुंगाना धम्बोझी माविका पूर्वप्रअ किरण आचार्यले वार्षिकोत्सवको सफलताको कामना गरेका तिए । सो अवसरमा विद्यालयले गायिका जोशी, पौडी र अतिरिक्त क्रियाकलापका उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरको छ । कार्यक्रममा नर्सरीदेखि कक्षा १२ का विद्यार्थीले आफूसँग भएको प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीले तयार गरेका खानाका परिकार विद्यालय परिसरमा स्टलमा राखिएको थियो । अभिभावकले पैसा तिरेर खाएका थिए ।