मधेश विद्रोहले गणतन्त्र र संघीयता आयो : अध्यक्ष यादव

रमेशकुमार यादव । नेपालगन्ज
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहले नेपालको शासन प्रणाली परिवर्तन गरेको दाबी गरेका छन् ।
जसपाले आइतबार नेपालगन्जमा आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दिल्लीमा भएको १२ बुँदे सम्झौतामा समेत संघीयता र गणतन्त्र कतै उल्लेख नगरेको जिकिर गर्दै मधेश विद्रोहको जगमा देश संघीयतामा गएको बताए । उनले भने, ‘मधेश आन्दोलन नभएको भए देशमा न त संघीयता हुन्थ्यो न त गणतन्त्र नै हुन्थ्यो । माओवादीको जनयुद्धले पनि शासन प्रणाली परिवर्तनमा मद्दत गरेको हो ।’ संघीयतालाई बलियो बनाउन प्रदेशलाई बढीभन्दा बढी अधिकार सम्पन्न तथा साधन स्रोत सम्पन्न बनाउनु पर्नेमा उनले जोड दिए । लाखौं करोड खर्च गरेर निर्वाचन जित्ने प्रणालीले भ्रष्टाचार बढेको उनको जिकिर थियो ।
कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इश्तियाक राई, जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव, जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राई, जिल्ला उपाध्यक्ष राजन रानामगर, सचिव राजेन्द्र विश्वकर्मा र रमा वैश्य लगायतले कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए ।