द्वन्द्वकालीन बेपत्ता घटनाको जाहेरी दर्ता नगरेकोबारे उच्च अदालत नेपालगन्जद्वारा कारण देखाउ आदेश
नेपालगन्ज : द्वन्द्वकालीन बेपत्ता घटनाको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालतले कारण देखाउ जारी गरेको छ ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले आइतबार बाँके र बर्दियाका प्रहरी र सरकारी वकिल कार्यालयका नाममा १५ दिने कारण देखाउ आदेश जारी गरेका हुन । प्रहरी र सरकारी वकिल कार्यालयले समेत जाहेरी दर्ता नगरेपछि बेपत्ता परिवारकाका सदस्यहरु जाहेरी दर्ताको आदेश जारी गरि पाउँ भन्ने माग दावीसहित गत २० मंसिरमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा परमादेशको रिट निवेदन दायर गरेका थिए । अदालतको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम परमादेशको आदेश जारी हुनुपर्ने नपर्ने के हो ? आदेश जारी हुन नपर्ने कुनै कारण र प्रमाण भए सो समेत साथै राखी बाटाका म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय नेपालगन्जमार्फत लिखित जवाफ पेश गर्नु ।’ रिट निवेदक बेपत्ता पीडितको तर्फबाट एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमका साथै अधिवक्ताहरु लोकबहादुर शाह, विश्जजित तिवारी र बलबहादुर चन्दले बहस गरेका थिए ।