बर्दियामा लैंगिक हिंसा घटना व्यवस्थापन सम्बन्धी तालिम

गुलरिया  : लैंगिक हिंसाका घटनामा प्रभावित व्यक्तिलाई न्यायिक प्रक्रियामा लैजान सहज बनाउने उद्देश्यले बर्दियाका स्वास्थ्यकर्मीहरुका लागि चार दिने तालिम संचालन गरिएको छ । एकद्वार संकट व्यवस्थापन केन्द्रसँग सम्बन्धित घटना व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहने भएकोले क्षमता अभिवृद्धि गर्नका लागि बर्दिया अस्पतालले तालिम संचालन गरेको हो ।
एक्सनएड नेपााल र कमैया महिला जागरण समाज नेपालको सहयोग, स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा संचालित तालिमको उद्घाटन बुधवार बर्दिया अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अंगद श्रेष्ठको अध्यक्षता भएको थियो । जिल्ला समन्वय समिति संयोजक शंकर प्रसाद थारु (शेखर) प्रमुख अतिथि रहेको तालिममा प्रमुख जिल्ला अधिकारी श्री सन्त बहादुर सुनार, प्रहरी उपरीक्षक इश्वर कार्की लगायतको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
समाजमा घट्ने लैंगिक हिंसा सम्बन्धि घटनाहरुको पहिचान गर्ने, न्यायिक प्रक्रियामा प्रभावितलाई सहयोग गर्ने र समग्र रुपमा समाजमा लैंगिक हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्न तर्फ उन्मुख गराउन यस्तो खालको तालिमले सहयोग पु–याउने कुरा उद्घाटनमा अतिथिहरुले बताएका थिए ।
तालिममा बर्दिया अस्पताल, आरसी थारु मेमोरियल नगर अस्पताल, प्राथमिक उपचार केन्द्र सोरहवा र प्राथमिक उपचार केन्द्र राजापुरबाट १९ स्वास्थ्यकर्मीहरु सहभागी रहेको उक्त तालिम पुस ३ गते सम्म संचालन हुने कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक जीतराम चौधरीले जानकारी दिए ।
लैंगिक हिंसाका घटनामा प्रभावित व्यक्तिलाई एकद्वार संकट व्यवस्थापन केन्द्रसँग सम्बन्धित घटना व्यवस्थापनवारे विभिन्न विषयवस्तुमा जिल्ला अस्पताल बर्दियाका डा. विजय उपाध्याय, डा.रन्जन थपलिया, सुमित्रा खड्का र सपना बाठामगरले सहजीकरण गरेका छन ।
लैंगिक हिंसाका घटनाका पहिचान, उपचार, मनोविमर्श परामर्श सेवा प्रदान गर्ने र हिंसाप्रभावितलाई न्यायिक प्रक्रिया र पुनस्र्थापनाको लागि एकैस्थानबाट सहज तरीकाले सेवा प्रदान गर्नको लागि बर्दिया अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) २०६८ मंसीर देखि संचालनमा रहेको छ ।