मिश्रित प्यानलबाट कांग्रेसको पदाधिकारी चयन, उप-सभापतिमा खड्का र गुरूङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचित

नेपालगन्ज : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा झन्डै आधा दर्जन प्यानल बने । ५ जना प्रतिष्पर्धी रहे पनि सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनबाट विजयी भए ,। देउवाले दुई हजार ७३३ मत पाउँदा डा. शेखर कोइरालाले एक हजार ८५५ मत पाएका थिए। कांंग्रेसका १३ पदाधिकारीमध्ये हालसम्म सभापतिसहित ५ जना निर्वाचित भएका छन्। उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र कोइराला प्यानलबाट धनराज गुरूङ विजयी भएका छन्। खड्काले दुई हजार १२१ र गुरूङले एक हजार ९०८ मत ल्याए। दुई जना उपसभापतिका लागि सात जना उम्मेदवार रहेकोमा प्रकाशमान सिंह प्यानलकी सुजाता कोइराला (६४४), स्वतन्त्रतर्फबाट महेश आचार्य (५८९) र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह (१३२ ) पराजित भएका थिए । त्यसैगरी महामन्त्रीमा कोइराला प्यानलबाट गगन थापा (तीन हजार २३) र सिंह प्यानलबाट विश्वप्रकाश शर्मा (एक हजार ९८४) मत ल्याएर विजयी भएका छन् । पहिलो चरणमै सभापतिमा पराजित भएका सिंहले प्यानलबाट महामन्त्री जितेका छन् । बिहीबार राति ९ बजेसम्म सहमहामन्त्रीको मत गणना जारी छ । सहमहामन्त्रीमा अग्रता लिनेहरु पनि मिश्रित प्यानलबाट रहेका छन् । नेताहरु प्यानलमा विभाजित भए पनि कांग्रेसका प्रतिनिधिहरुले भने विवेक प्रयोग गरेर केन्द्रीय नेता चयन गरिरहेका छन् ।