फागुनमा नेपालगन्जलाई साक्षर घोषणा गर्ने तयारी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकालाई आगामी फागुन महिनाभित्र साक्षर नगर घोषणा गर्ने तयारी भएको छ ।
उप–महानगरपालिकाले बिहिवार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले आगामी फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जानकारी दिए । एकसाताभित्र निरक्षरहरुको तथ्यांक संकलन गरेर ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिने तयारी भएको छ । उपमहानगरमा कम्तीमा पनि १५ प्रतिशत निरक्षर व्यक्ति रहेको आँकलन गरिएको शिक्षा शाखा अधिकृत भीमवहादुर बुढाले बताए । नेपालगन्जमा १५ देखि ६० वर्ष उमेर समूहका हाल करिब १५ हजार निरक्षर रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनीहरुका लागि साक्षरता कक्षा सञ्चालन गर्न नगरभित्रका वाल विकास शिक्षकलाई परिचालन गरिने भएको छ । साक्षर नगरसँगै फागुन मसान्तभित्र वालविवाहमुक्त नगर घोषणा गर्ने तयारी छ ।