राजापुर नगरपालिकाको सिफारिस अब घरबाटै

शक्ति परियार । राजापुर
बर्दियाको राजापुर नगरपालिकाका सेवाग्राहीले पालिकाबाट आवश्यक पर्ने विभिन्न किसिमका सिफारिसहरु अब घरबाटै लिन पाउने भएका छन् ।
कार्यालयले प्रदान गर्ने सेवालाई एकिकृत गरेर ई गर्भमेन्सको अवधारण अनुरुप ई –सिफारिसको सुरुवात गरिएको हो । पालिकाले शुक्रबार वडा नं ५ बदालपुरमा एक कार्यक्रमको आयोजना गरी सिफारिस प्रणालीको समुद्घाटन गरेको हो । वडा नं. ५ बाट सुभारम्भ गरिएको यो सेवा अन्तगर्त सर्वसाधारण नागरिकलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने नागरिकता, जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता लगायत फारामहरु घरबाटै भर्न सक्ने भएका हुन्।
सुशासनका लागि क्षमता विकास कार्यक्रम (सिडिडएसजी) अन्तर्गत जीआईजेडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको यो प्रणाली शुक्रबारदेखि राजापुर नगरपालिकामा सञ्चालन भएको हो। यो सेवा क्रमशः नगरपालिकाका सबै वडाहरुमा लागू हुने जनाइएको छ ।

सिफारिस प्रणालीको उद्घाटन गर्दै राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले आउँदा दिनहरुमा कागजको प्रयोग कम गर्दै सजिलो र छिटो अनलाइनबाट सेवा प्रदान गरिने बताए । यो समयमा प्राय सबैको घरमा मोबाइल तथा अनलाइन सेवा भएका कारण भीँडभाड तथा सजिलोसँग घरबाटै आफूले चाहेको जानकारी र फारम भर्न मिल्ने बताए। कार्यक्रममा बोल्दै वडा नं. ५ का अध्यक्ष रामबहादुर थारुले विकासका कामहरू बाटो घाटो निर्माण मात्रै नभएर प्राविधिक विकासतर्फ पनि आफूहरु लागिपरेको बताए । जेआईजेडका लुम्बिनी प्रदेश संयोजक निराजन सुवेदीले यो सेवाबाट स्थानीयले घरबाटै आफै सम्पूर्ण सेवाहरूको बारेमा जानकारी पाउन सक्ने तथा कार्यालयमा धाउन नपर्ने बताएका छन् ।