एक हप्तामा दुई अटोमेटिक पेस्तोलसहित ६ पक्राउ

नेपालगन्ज : बाँके जिल्लामा एक हप्ताको अवधिमा २ वटा अटोमेटिक पेस्तोलसहित ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार १७ फागुन र २२ फागुनमा गरी २ दिन अटोमेटिक पेस्तोलसहित तीन तीन जना पक्राउ परेका हुन् ।

२२ फागुनको साँझ ७ः२५ बजे खजुरा गाउँपालिका–१ बहादुरपुरका २५ वर्षका रविन्द्र थापाले घरमै लागूऔषधको कारोबार गरिरहेको सूचना पाएर गएको प्रहरी टोलीले चेकजाँच गर्दा ९० ग्राम लागूऔषध ब्राउन सुगर र कालो रंगको म्याग्जिन भएको अटोमेटिक पेस्तोल बरामद भएको थियो । प्रहरीले थापासँग कारोबार गर्ने खजुरा–२ का २७ वर्षका मनिष थापा र नेपालगन्ज–१० भृकुटीनगरका २८ वर्षका सुरेश रोका मगरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिप्रका बाँकेले जनाएको छ ।
यसअघि १७ फागुनको राति ९ बजे डुडुवा गाउँपालिका–४ को सिधनियाघाटस्थित राप्ती पुल नजिकबाट नेपालगन्ज–१८ का २९ वर्षका सुशान्त ओली, नेपालगगन्ज–१२ का २८ वर्षका दीपेन्द्र अधिकारी र कैलालीको लम्कीचुहा–३ का ३२ वर्षका द्वारिका उपाध्यायलाई अटोमेटिक अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोली र खुँडासहित पक्राउ गरेको थियो । गएको ३ महिनाको अवधिमा मात्र ५ वटा साना हतियारसहित व्यक्ति पक्राउ परेका छन् । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी चुनाव नजिकिँदै गर्दा साना हतियारको खतरा बढेको बताउँछन् ।