कन्या क्याम्पस सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिने तयारी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले मधेसी र मुस्लिम समुदायका छात्राहरुको शिक्षामा पहुँच बढाउने उद्देश्यले निर्माण गरेको कन्या कलेज सञ्चालन गर्ने तयारी थालेको छ ।

कलेज सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छ भने आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न विभिन्न विश्वविद्यालयसँग सम्बन्धनका लागि पहल थालिएको छ । झण्डै १० करोडको लागतमा कक्षा कोठासहित पूर्वाधार निर्माण गरिसकिएको बताउँदै आगामी शैक्षिक सत्रमै कक्षा सञ्चालन गर्न पूर्वान्चल विश्वविद्यालयसँग सम्बन्धनका लागि पहल थालिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा बताउँछन् ।
यसअघि मध्यपश्चिम विश्वविद्यालयमा आवेदन दिए पनि सम्बन्धन नपाउँदा सञ्चालनमा ढिलाइ भएको थियोे तर हाल पूर्वान्चल विश्वविद्यालय विराटनगरले सम्बन्धन दिन सकारात्मक प्रतिक्रिया जनाएको कलेज सञ्चालक समितिका सदस्य रविन्द्रकुमार कर्णले बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयले अब आउने शैक्षिक सत्रदेखि सम्बन्धन दिने आश्वासन दिएको छ’ उनले भने ‘सम्बन्धन पाए अब नयाँ भर्ना खुलेसँगै यसै शैक्षिक सत्रदेखि बीबीए, बीबीएस, बीएड, बिसीए, बिआइटी र एलएलबी तहको कक्षा सञ्चालन हुनेछ ।’
नेपालगन्ज उपमहानगरपालिकाले मधेसी तथा मुस्लिम बालिकाको पहुँच बढाउन अघिल्लो वर्षदेखि नै सल्यानीबागमा कन्या मावि सञ्चालन गरिरहेको छ । त्यहाँ छात्राहरुको आकर्षण बढाउन विभिन्न कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीको उत्साहजनक रुपमा उपस्थिति बढेको नेपालगन्ज कन्या मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जैसवालले बताए ।
नेपालगन्जमा खासगरी मुस्लिम समुदायका बालिकाहरु मदरसामा पढेपछि माथिल्लो कक्षा पढ्न अरु विद्यालयमा नजाने गरेको पाइएको छ । त्यस्ता छात्रालाई नेपालगन्ज कन्या माध्यामिक विद्यालयमा पढ्ने वातावरण मिलाएपछि छात्राहरुको आकर्षण त्यसतर्फ बढेको छ । हाल १० कक्षासम्म पढाइ हुने सो विद्यालयलाई कक्षा १२ सम्म पढाउने लक्ष्य छ । त्यहाँबाट उत्रीर्ण हुने छात्रा र उच्चशिक्षा अध्ययन गर्न चाहने अन्य छात्राहरुलाई कन्या कलेजमा पढ्ने व्यवस्था मिलाउन लागिएको हो ।