नेपालगन्जमा तीन दिने वेष्टर्न ट्राभल मार्ट सञ्चालन, राउटे मुखियाले गरे उद्घाटन

नेपालगन्ज : पश्चिम नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपालगन्जमा तीन दिने वेष्टर्न ट्राभल मार्ट सुरु भएको छ ।
सीमावर्ती भारतीय सहरका टुर अपरेटर र नेपाली ट्राभल व्यवसायीबीच टुर प्याकेजहरुको आदान प्रदान गराएर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले ट्राभल मार्ट’ सञ्चालन गरिएको हो । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका र नाट्टा च्याप्टर बाँकेको आयोजनामा नेपालगन्जको कारकाँदोस्थित होटल सिदार्थ भ्यूमा सुरु भएको मार्टको बिहीबार राउटे मुखिया सूर्यनारायण शाहीले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डा. धवलशम्शेर राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, भारतीय व्यवसायी अनुज सिंघल, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)का केन्द्रीय अध्यक्ष अच्यूत गुरागाई र नाट्टा बाँके च्याप्टरका अध्यक्ष एवम ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालक समितिका अध्यक्ष श्रीराम सीग्देलले पश्चिम तराईका पर्यटकीय गन्तब्यहरुको सम्भावनाका बारेमा आफ्नो धारणा राखेका थिए । फागुन २८ गतेसम्म सञ्चालन हुने मार्टमा भारतीय सिमावर्ती सहरका ५० बढी टूर अपरेटर र सञ्चारकर्मीहरुको मार्टमा सहभागिता रहेको छ भने नेपालगका होटल ब्यवसायी तथा पर्यटन सेवा प्रदायकहरुको उल्लेख्य सहभागिता रहेको छ ।


मार्टले पर्यटन प्रर्वद्धनका साथै सातै प्रदेशका पर्यटन व्यवसायी र भारतीय टुर अपरेटरबीच टुर प्याकेजहरुको आदान प्रदान गर्न मद्दत पुग्नेछ । मार्टका पाहुनाहरुलाई बाँके, बर्दिया र कर्णाली प्रदेशमा रहेका पर्यटन क्षेत्रको भ्रमण आयोजकले जनाएको छ ।