वेष्टर्न ट्राभल मार्ट : दोस्रो संस्करण अर्को वर्ष फागुन २५–२७ मा घोषणा गर्दै समापन

नेपालगन्ज : वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करण पनि अर्को वर्षको फागुन महिनामै हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँके आयोजक गरेको वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले शनिबार मार्ट समापन समारोहलाई सम्बोधन गर्दै आगामी वर्षको फागुन २५–२७ मा तीन दिन आयोजना हुने बताए । नाट्टा च्याप्टर बाँकेका अध्यक्ष समेत रहेका सिग्देलले भने, ‘अब हरेक वर्ष एउटै मितिमा फेबु्रअरी २५, २६ र २७ मा हुनेछ । अब नियमित हुनेछ ।’ पश्चिम नेपालका पर्यटकीय क्षेत्रको भारतमा बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक सुरु भएको आयोजना गरिएको मार्टको अवसरमा पश्चिम नेपालका पर्यटकीय गन्तव्यबारे मार्टले भारतीय पर्यटन व्यवसायीलाई भिडियो र टेक्निकल सेसनमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी दिएर र बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिइएको थियो ।
नेपालगन्जको बागेश्वरी मन्दिर, फनपार्क, कर्णाली चिसापानीमा -याफ्टिङ गराइएको थियो । बर्दियाको ठाकुरद्वारामा एक रात बास बस्दै बर्दिया राष्ट्रिय निकुञ्जमा २ घण्टा बढीको जीप सफारी गरिएको थियो । ठाकुरद्वाराका पर्यटन व्यवसायीहरुले निकुञ्ज र बाघका विषयमा जानकारी गराएका थिए । भारतीय सहरका टुर अपरेटर र नेपाली ट्राभल व्यवसायीबीच टुर प्याकेजहरुको आदान प्रदान पनि गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका उप-प्र्रमुख उमा थापा मगरले पश्चिमका पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न आयोजना गरिएको मार्ट सफल भएको बताइन् । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सीइयो डा.धनञ्जय रेग्मीले भारतीय व्यवसायीलाई नेपाल प्याकेज बनाएर आउन आग्रह गरेका थिए । वेष्टर्न ट्राभल मार्टमा भारतको दिल्ली, मुम्बई, वनारस, आगरा, बाराबंकी, लखनउ, गुडगाउँ, फरिदावाद, गोरखपुर क्षेत्रबाट ४० जना टुर अपरेटर र १० पत्रकारको सहभागिता रहेको थियो । मार्टमा नेपालको ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै पर्यटन व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।